काठमाडौँ। युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगेका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली शनिबार (आज ) काठमाडौँ आइपुगेको प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटरमार्फत् जानकारी दिएका छन्।
भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत्स्वदेश फर्काउने क्रममा चार जना नेपालीलाई पनि उद्धार गरेर ल्याएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा ट्विटरमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद दिएका छन्।
रुस र युक्रेनबीचको युद्धका कारण अहिले विभिन्न देशले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काइरहेका छन् । युक्रेनबाट अहिलेसम्म पाँच सय ८४ जना नेपाली बाहिरीएका छन् । यो बाहेक युक्रेनमा नेपाली नागरिक भए नभएको बारे तथ्याङ्क नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार युक्रेनबाट नेपालीहरु विभिन्न देशमा गएका भए पनि नेपाल आएपुगेको औपचारिक जानकारी भने चार जनाको मात्रै रहेको छ ।