काठमाडौँ। निर्वाचन आयोगले १७ राजनीतिक दलका प्रतिनिधिसँग स्थानीय तह निर्वाचनबारे छलफल गर्दै छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग शुक्रबार छलफल गर्न लागेको हो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान साढे ११ बजे छलफलका लागि आयोगमा बोलाएको जानकारी दिए । निर्वाचन घोषणा भएपछि आयोगले गरेको अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाको सन्दर्भमा छलफल गर्न लागिएको उनले बताए ।
आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आयोगले ७९ दललाई मान्यता दिएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको हो ।