• बैशाख २२ २०८३, मंगलवार

राष्ट्रपति भण्डारी र फ्रान्सको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता

फाल्गुन २६ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका फ्रान्सको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालयमा आज अपरान्ह शिष्टाचार भेट गरेको हो ।

भेटमा अध्यक्ष रियोतोँका साथ समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर तथा नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओको पनि उपस्थिति रहेको थियो भने यता राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि बैठकमा सहभागी थिए ।

भेटमा राष्ट्रपति भण्डारीले पारस्परिक सद्भाव र समझदारीमा आधारित नेपाल र फ्रान्सबीचको सम्बन्ध उच्चस्तरीय भ्रमणको आदान–प्रदानबाट अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् ।

अध्यक्ष रियोतोँले दिगो विकास र कृषि क्षेत्रमा फ्रान्स र नेपालबीच सहयोग सुदृढ तुल्याउने आफ्ना चाहना अभिव्यक्त गरेका थिए ।

भेटमा दुवै पक्षबीच महिला सशक्तीकरण, जलवायु परिवर्तनका दुष्प्रभावका कारण विश्वले झेल्नु परेका समस्या, राजनीतिक तहमा नेपालमा महिलाको सक्रिय एवं सशक्त भूमिकाका निम्ति भएका प्रयास, संविधानले गरेका व्यवस्था, नारी स्वतन्त्रता तथा समानताबारे छलफल भएको थियो ।

दुवै पक्षले पारस्परिक हित र चासोका विविध विषयका साथै आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा विचारविमर्श गरेको थियो ।