• बैशाख २३ २०८३, बुधबार

लम्जुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

फाल्गुन २५ २०७८, बुधबार

लमजुङको सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएपश्चात् उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।

सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनका अनुसार सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नं ९ को मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्ला क्षेत्रमा कफ्र्यू जारी जारी गरिएको छ ।

सोही विद्यालयका शिक्षक सरोज ओलिया र कक्षा १० मै अध्ययनरत सविन गुरुङसँगै पौडी खेल्न गएका थिए । श्रेष्ठ सो विद्यालयको छात्रबासमा बस्दै आएका थिए । उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरबाही गरेको भन्दै सो क्षेत्र मङ्गलबार तनावग्रस्त बनाएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यू जारी गरेको हो ।