• बैशाख २२ २०८३, मंगलवार

स्वीट्जरल्याण्ड र सिङ्गापुर जस्ता कृत्रिमताको पछि लाग्नु भन्दा आफ्नै ठाउँको विकास गरौँ : मन्त्री आले

फाल्गुन २४ २०७८, मंगलवार

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला– बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गम स्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताएका छन्।

खप्तड पर्यटन विकास समितिद्वारा मंगलबार आयोजित ‘खप्तडको पर्यटन विकासका लागि अन्तक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले खप्तड जस्तो प्राकृतिक सुन्दरता भएको ठाउँ अरू कतै नभएको बताए।

मन्त्री आलेले भने, ‘हामी स्वीट्जरल्याण्ड, सिङ्गापुर घुम्न गइरहेका छौँ तर त्यो प्राकृतिक होइन, कृत्रिम हो । हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, रारा जस्ता प्राकृतिक ठाउँको विकास गरौँ, पर्यटक आउने छन् ।’

मन्त्री आलेले रकमान्तर भएको बजेट खप्तडको विकासका लागि छट्याएर अर्थ मन्त्रालयमा पठाएको समेत जानकारी दिए । उनले भने,आउँदो वर्षको बजेटका लागि खप्तडको मास्टर प्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिने छ ।’

यसैगरी मन्त्री आलेले खप्तडमा पर्यटक सहजै भित्र्याउनका लागि खप्तड पर्यटन विकास समितिले योजना बनाए आफू पर्यटन मन्त्री भएका कारण आफ्नो तर्फबाट सक्दो सहयो गर्न तयार रहेको आश्वासन दिए

मन्त्री आलेले गौतमबुद्ध जन्मेको देश, सगरमाथाको देश भनेर चिनिने अनि १४ औँ पटक हिमाल चढ्ने निर्मल पुर्जा जस्ता व्यक्तिहरू भएको नेपाललाई विश्वसामु चिनाउन आफू अहोरात्र खटिएको समेत जानकारी दिए ।

मन्त्री आलेले एक हप्ता अघि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाओटलाई आफूले खप्तड लगेको र धनगढी, खुटिया, दिपायल, बझाङ चैनपुर हुँदै उरैताक्लाकोट र चीनसम्म पुग्न जम्मा तीन सय ४० किमी भएकाले त्यस क्षेत्रमा दु्रर्त मार्गको सहयोगका आफूले आग्रह गरेको बताए ।

कार्यक्रममा खप्तड पर्यटन विकास समिति अध्यक्ष हर्कबहादुर सिंहले खप्तडको विकासका लागि आफूह सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । खप्तड आउने पर्यटकले कम्तीमा पनि दुई–तीन दिन वास बस्न सके त्यहाँको वास्तविक उपहार चिन्न सकिने उनले बताए।