काठमाडौँ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटक पटक ध्यानाकर्षण गराए पनि कलेजले अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताए ।
उनले छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको बताए । छात्रावासमा नबसेकै कारण विद्यार्थीहरुलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने उनको भनाइ छ ।
उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरेपनि कलेजले अपहेलना गरिरहेको भन्दै अबको विकल्प भनेको सिट नदिने वा सम्बन्धनको खारेजी भएको बताए ।
त्यस्तै आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले अहिलेको विदार्थीको विषय भनेको रकमको नभइ जीवनरक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताए । उनले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको बताए
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले कलेजले पैसा बढी लिएको वा घटी लिएको भन्ने अधिकार सदस्य सचिवलाई नरहेको भन्दै आक्रोश व्यक्त गरे । नियमभन्दा बाहिर गएर कलेजले विद्यार्थीहरुसँग पैसा असुलिरहेको भन्दै सदस्यसचिव काफ्लेलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गरे ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद हितबहदुर तामाङले विद्यार्थीहरुबाट धेरै पैसा असुलेको कुरा प्रस्ट भएको भन्दै कलेजलाई कारबाही गर्नुपर्ने माग गरे । उनले विद्यार्थीहरुले आफूमाथि बढी लिएर गरेको अन्यायबिरुद्ध बोल्नु विद्यार्थीहरुको अधिकार भएको बताए।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाँले विद्यार्थीहरुले त्यही कलेजमा पढ्न नसक्ने भन्दै उनीहरुको लागि सुरक्षित गन्तव्य खोज्नुपर्ने बताए ।