काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।
गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै सोमबार बस्ने तय भएको थियो ।
आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ।
गत शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमसिसी अनुमोदन गर्नुपर्ने विषयमा बोलेका थिए भने नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए।
एमसिसीको विवादलाई टुंग्याएपछि केन्द्रीय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि निर्धारण गरेकोमा १० प्रतिशत सदस्य केन्द्रीय समितिबाट चयन गर्ने ब्यवस्था गरिएको थियो ।
त्यस्तै एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।