• बैशाख २३ २०८३, बुधबार

लुक्ला विमानस्थल नजिकैको नक्चुङ सामुदायिक वनमा भीषण आगलागी

फाल्गुन २३ २०७८, सोमबार

सोलुखम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गएरातिदेखि भीषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले बताएका छन्।

भीर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकोप्टर झिकाइएको खुम्बु पासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले जानकारी दिइन्। आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौंबाट हेलिकोप्टर उडिसकेको बताइएको छ।

आगोको धुँवाका कारण सोमबार बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए।

अहिले विमानस्थल संचालनमा आइसकेको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलिदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले बताए।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीको विषयमा कुनैपनि जानकारी नभएको बताए।