काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को सो प्रतिवेदन पेश गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयले जनाए अनुसार उनले आजै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७/७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेश गरेका छन् ।
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आव २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयको जारी विज्ञप्तिमा उल्लेख छ ।