• बैशाख २३ २०८३, बुधबार

काठमाडौं महानगरभित्र पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन नगरवासीलाई अपिल

फाल्गुन २१ २०७८, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेका छन् ।

प्रायः सबै सम्पदाहरूको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई मेयर शाक्यले अपिल गरेका हुन् ।

शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटन पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाहरूको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताए ।

उनले चुनावमा आफूहरूले गरेको प्रतिबद्धता अनुसार नै सम्पदाहरूको पुनर्निर्माणको कामले गति लिएको दाबीसमेत गरे । महानगरपालिकाले पुरातात्त्विक महत्त्वका सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोही अनुसार काम भइरहेको मेयर शाक्यको भनाई थियो ।