• बैशाख २२ २०८३, मंगलवार

एमसिसीमा व्याख्यात्मक घोषणाको औचित्य छैन भन्नु संसदको अवमूल्यन : थापा

फाल्गुन २१ २०७८, शनिबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अवमूल्यन भएको बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाम्रो आफ्नो सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको बताए।

महामन्त्री थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै सन्धि-सम्झौतामा जे छ, त्यही बुझाइलाई स्पष्ट पारिएको मात्र हो भने।

उनले एमसीसी सम्झौता व्याख्याका सम्बन्धमा कांग्रेस स्पष्ट रहेको उल्लेख गर्दै अन्य राजनीतिक पार्टीलाई थप स्पष्ट बनाउ र संसदबाट सहज रूपमा परित गर्न यो आवश्यक भएको हुँदा आफूले यसलाई सकारात्मक रुपमा लिएको बताए।

महामन्त्री थापाले आगामी दुई/चार महिनापछि यस विषयमा जनतामा रहेका भ्रम हट्दै जाने विश्वास व्यक्त गरे।

उनले सम्झौताको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलार्ई आगामी पाँच/सात वर्षसम्म यस सम्बन्धमा सोधिरहनुपर्ने अन्यथा पुनः अन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने छन् भने।

नेकाका उपसभापति धनराज गुरुङले वर्तमान सरकार बाध्यात्मक स्थितिमा गठबन्धन गरिएको बताउँदै चुनावमा गठबन्धन नहुने, जहाँ जुन परिस्थिति हुन्छ त्यहीअनुसार गर्दै जाने धारणा राखे।

उनले कांग्रेस सदैव बहुलवाद र संसदीय पद्धतिमा आधारित पार्टी भएकाले आफ्नो नीति र एजेन्डा लिएर जनतासमक्ष जाने बताए।