• बैशाख २३ २०८३, बुधबार

मुस्ताङमा भीषण हिमपहिरो, १५ चौँरी मरे

फाल्गुन २१ २०७८, शनिबार

जोमसोम । मुस्ताङमा भीषण हिमपहिरो गएको छ। थासाङ गाउँपालिका-२ मानापाथी हिमालको फेंदमा शनिबार बिहान करिब ४ बजे भीषण हिमपहिरो गएको हो। हिमपहिरोमा पुरिएर पानापाथी हिमालको फेदनजिक गोठमा रहेका १५ वटा चौरी मरेको जनाइएको छ।

थासाङ-२ नाउँरिकोटकी स्थानीय शुशिला गौचन र उनका भाइ नरप्रसाद गौचनको गोठमा रहेका ३९ वटा चौरीमध्ये १५ वटा चौरी हिउमपहिरोमा पुरिएर मरेको थासाङ-२ बोक्सी खोलाका सुजन गौचनले जानकारी दिए।

उनका अनुसार कुल ३९ वटा चौरीमध्ये १४ वटा चौरी जिउँदो भेटिएको र १५ वटा चौरी हिउँपहिरोमा पुरिएर मरेका छन् भने १० वटा चौरी अझै फेला पार्न नसकिएको उनले बताए। अहिले त्यसक्षेत्रमा स्थानीयबासी र प्रहरीको टोलीले चौरी खोज्ने र घटनाको विवरण संकलन गर्ने काम भैरहेको बताइएको छ।

थासाङ-२ को गुरुसाङ्वो गुफामाथिको चिप्लुङ लेंकमा नाउरिकोटकी शुशिला गौचन र नरप्रसाद गौचनको चौरी गोठ थियो। गोठमा चौरी हेर्ने गोठाला त्यहाँ नभएको अवस्थामा हिमपहिरो गएको शुशिला गौचनले बताइन्। हिमपहिरोले चौरी गोठ पुरै पुरिएको र लाखौंका क्षति पुगेको उनले बताइन्। स्थानीय बासिन्दा घरमा सुतिरहेको अवस्थामा हिमपहिरो गएकाले जनमानसमा त्रास नभएको उनले खुलाइन्।

यसअघि गत कार्तिकमा पनि उक्तक्षेत्रमा भीषण हिमपहिरो गएको थियो। हिमपहिरो गएपछि भागदौड हुँदा ९ जना घाइते भएका थिए।

त्यसक्षेत्रमा दशकौंदेखि पटक-पटक हिमपहिरो जाने गरेको स्थानीयले बताएका छन्। पटक-पटक हिमपहिरो जाने गर्दा खर्कको दर्जनौं गोठमा रहेका याकचौरी जोखिममा परेको बताइएको छ।