काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबारकाठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति समेत जनाए ।
उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै उनीहरु निर्वाचनदेखि डराएको दाबी गरे। उनले भने, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन । जनतामा जाने भनेको डराउँछन । भरसक जनतामा जाने मिति पर सार्छन । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहोर्याउन्न चाहन्न । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भईरहेको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गरे । नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर आफ्नो पार्टी नेतृत्वको सरकारले बनाएको सो चुच्चे नक्सा प्रिय भएको तर वर्तमान सरकारले गायव बनाउने गरेको उनको भनाई थियो ।