काठमाडौँ। नेपालको संसदबाट व्याख्यात्मक टिप्पणी सहित अमेरिकी सहयोग नियोग भनिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास भएपछीको सबै भन्दा ठुलो विरोध कार्यक्रम राजधानी काठमाडौँमा सम्पन्न भएको छ। संसद बाहिर रहेर सो एमसीसी सम्झौताको बेजोड रुपमा विरोध गरिरहेका ६ वटा कम्युनिष्ट पार्टी र दुइवटा मोर्चाले शुक्रबार राजधानीमा विरोध सभा गरेका हुन्।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र समाजवादी) र विश्व भक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र दुई मोर्चा सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा र चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सो विरोध सभा खुलामंच टुडिखेलमा गरिएको थियो।
ती छ पार्टी र दुई मोर्चाले एमसीसीको विरोध गर्न आयोजना गरेको सभा सुरु हुनुभन्दा पहिने पार्टी र मोर्चा सम्वद्ध नेता, कार्यकर्ता तथा शुभ चिन्तकहरु राजधानीको तीन स्थान सुन्धारा, त्रिपुरेश्वर र माइतिघर मण्डलाबाट नारा जुलुश प्रदर्शन गर्दै सभा स्थल खुला मंचमा प्रवेश गरेका थिए।