काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले एमसीसी पास गरेको फाल्गुण १५ गतेको दिन नेपाली जनताका लागि कालो दिनमा दर्ज भएका बताएका छन् ।
कम्युनिस्टको नामका दलालहरुले यो दिन निम्त्याएको उनको आरोप रहेको छ । एमसीसी लागू गरेमा जनताको बलमा यसलाई ध्वस्त पार्ने विप्लवको चेतावनी रहेको छ । जनताको मत र सर्मथन बिना संसदबाट एमसीसी पास गर्नु जनघात भएको विप्लवको दावी रहेको छ ।
एमसीसी विरुद्ध आज काठमाडौंमा ८ दलद्धारा गरिएको एमसीसी विरुद्धको सभामा बोल्दै उनले यस्तो बताएका हुन् । कुनैबेला तरवारले साना देशलाई नियन्त्रण गरिने गरेको इतिहास सुनाउँदै विप्लवले आजको विश्व सूचना, प्रविधि र एमसीसीमार्फत् साना र स्रोतयुक्त देशलाई कब्जा गर्ने गरेको उनको भनाई रहेको छ ।
साम्राज्यवादीले एमसीसीमार्फत् नेपाली जनताको आन्दोलनलाई दबाउने गरेको उनको भनाई छ । एमसीसीलाई विप्लवले नयाँ साम्रज्यवादी उपनिवेशको संज्ञा दिए ।
नेपाली भूगोल नियन्त्रण गरी यहाँको स्रोत कब्जा गर्ने अमेरिकी योजना नै एमसीसी भएको उनको दावी रहेको छ । पैसा पाउने अन्धताका कारण एमसीसी ल्याइएको उनको भनाई रहेको छ । एमसीसी पास गरेपछि बाँचिन्छ र कुर्सी बचाउन पाइन्छ भन्नेहरुलाई जनताले कारवाही गर्ने विप्लवको चेतावनी छ ।
देशको स्वाधिनताको रक्षा गर्ने काम कम्युनिस्टहरुको भएको उनको भनाई रहेको छ । ‘श्रीलंकाका पुँजीपतिले बरु साम्राज्यवाद विरुद्ध लडे तर नेपालका नक्कली कम्युनिस्टले त्यत्ति गर्न पनि खुट्टा कमाए’ विप्लवको दावी छ ।
जनघात गर्ने संसदको औचित्य सकिएको उनको चेतावनी रहेको छ ।