काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले स्वधिनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलन उद्घाटन गर्दै रावलले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरुको प्रस्ताव सकारात्मक रहेको बताएका हुन्।
देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उनले बताए । त्यस्तै उनले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरुका नेतालाई जनताले आगामी चुनावमा ठोक्नुपर्ने समेत बताए । उनले एमसीसी पारित भएसंगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राखे । रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वभाविक रहेको उल्लेख गरेका छन् । राष्ट्रघाती विषयमा मात्र आफुले बोलेको भन्दै उनले पार्टीको हित विपरित कहिं कतै नबोलेको तर्क गरेका छन् ।