काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी गृह मन्त्रालय पुगेका छन् ।
भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ ।
भेटमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।
गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।
‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको थियो,’ गृहमन्त्री खाणले भेटमा भने, ‘एकातीर एमसीसी पास गर्नु थियो । अर्कोतिर सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नु थियो । एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।’
भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए । एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार धन्यवाद दिएको राजदूत बेरीले बताए ।
‘एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीले भने ।