• मंसिर १४ २०८१, शुक्रबार

पोखरामा फेरि बर्डफ्लु देखियो

फाल्गुन १८ २०७८, बुधबार

पोखरा। पोखरामा फेरि बर्डफ्लु देखिएको छ । पोखरा १५ का खुसीमान गुरुङ र पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरामा बर्डफ्लु पुष्टी भएको छ।

कुखुरा भकाभक मर्न थालेपछि  त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो।  परीक्षण गरिएका कुखुरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ।

रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पन्छीजन्य कारोबारमा बन्देज लगाइएको समितिका सूचना अधिकारी डा. गृष्म न्यौपानेले जानकारी दिए।

उनका अनुसार गत १५ गते नै नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट प्रभावित क्षेत्र तोकिएको छ ।

उनले बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको बताए।

अव्यवस्थित पालन र कारोबारका कारण उक्त क्षेत्र सँधै बर्डफ्लुको उच्च जोखिममा छ । केही वर्षअघि पनि पोखरा -१४ को मझेरीपाटनमा संक्रमण फैलिएको थियो । ३ वर्षअघि मादी गाउँपालिकामा पनि बर्डफ्लु  देखिएको थियो ।

बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरुलाई सचेतनाका सामग्री प्रकाशन प्रशारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ ।