काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार अवैध सम्बन्धपछि झाडीमा जन्मिएको बताएका छन्।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले अवैध सम्बन्धबाट झाडीमा जन्मिएको अहिलेको सरकार तत्काल विघटन हुनुपर्ने बताए। उनले गठबन्धन सरकार जनादेशबाट बनेको नभइ परमादेशबाट बनेको हुनाले तत्काल विघटन भएर चुनावमा जानुपर्ने बताए।
‘यो अवैध सम्बन्धबाट बनेको गठबन्धन सरकार हो, यो झाडीमा जन्मिएको छ। अवैध सम्बन्धबाट जन्मिएकाले तत्काल विघटन हुनुपर्छ’, उनले भने, ‘यो सरकार ढल्नुपर्छ। यो गठबन्धन रहनु हुँदैन, एमाले यसबारे प्रष्ट छ। यो असंवैधानिक गैरकानुनी रुपमा बनेको परमादेशी हो, यो आजको जनादेशी होइन। यो विघटन भएर चुनावमा जानुपर्छ।’
यो सरकार बन्नै नदिन आफूले कोसिस गरे पनि सफल हुनसकेको उनले बताए। ‘यो सकरार बन्नै हुँदैन थियो, यो लोकतन्त्र र देशका लागि दुर्भाग्य हो’, उनले भने, ‘हामीले कांग्रेससँग वार्ता गरेका थियौँ। तर हामी यो सरकार, सभामुख र १४ सांसदबारे अहिले पनि पुरानै अडानमा यथावत छौँ।’