काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकामा वर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलो पटक बर्डफ्लु भित्रिएको हो । ताप्ली गाउँपालिका ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा सङ्क्रमण पाइएको हो । १ हजार ६ सय भन्दा बढी कुखुरा मरेका छन् ।
भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहका अनुसार केही दिन अघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङ लगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको हो ।
कुखुरा मरेका जानकारी पाए लगत्तै बर्डफ्लुको आशंकामा स्थानीयको लेयर्स कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो । सहा भन्छन्, ‘विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो ।’
भारतीय बजारबाट कटारी बजारहुँदै मार्केटिङका लागि लगिएका लेर्यस र बोइलर कुखुराबाट बर्डफ्लु भित्रिएको स्थानीयबासीको आशंका रहेको छ । भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका १५ दिन अघि थारो लेर्यस र बोइलर कुखुरा बिक्रीका लागि लगिएको स्थानीयबासीले जानकारी दिएका छन् ।