काठमाडौं । चीनले अमेरिकी विकास सहायता परियोजना एमसीसी संसदबाट पारित भएपछि त्यसको जवाफ दिएको छ।
चिनियां विदेशमन्त्रालयका प्रवक्ता वाङ वनपिनले सोमबार बेइजिङमा नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपालको संसदबाट भएको व्याख्यात्मक घोषणालाई ‘ध्यान दिएको’ प्रतिक्रिया दिएका हुन्।
उनले नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकासकाे बाटो छनौट गर्न निरन्तर समर्थन दिने समेत बताएका छन्।
एमसीसी सम्झौंता संसदबाट अनुमोदन भएपछि चीनले पहिलो पटक प्रतिक्रिया दिएको हो। यसअघि चीनले बलजफ्ती कुटनीतिक गरेको भन्दै अमेरिकाको आलोचना गरेको थियो । त्यसको जवाफमा अमेरिकाले समेत वक्तव्य जारी गरेको थियो।
प्रवक्ता वाङले नेपाली संसदको व्याख्यात्मक घोषणा अनुसार नेपालको संविधानको प्रभाव एमसीसीभन्दा माथी रहने जानकारी आएको भन्दै एमसीसीका कारण अमेरिकाको हिन्द प्रशान्त रणनीतिको सैन्य र सुरक्षा गठबन्धन नेपाल नबन्ने गरी ब्याख्या भएको बताएका छन्।
उनले पत्रकार सम्मेलनमा भनेका छन् ‘नेपालले एमसीसी समस्यामा मात्रै अमेरिकाको नीति र कानूनलाई सम्मान गर्ने छ । नेपालमा अमेरिकाको कारवाही नेपालको कानुनद्वारा नियन्त्रण र अनुगमन गरिने छ भन्ने जानकारी हामीले पाएका छौं।’