काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै पूर्वसहकर्मीहरुलाई भेंडाको छाला ओढेका ब्वाँसाको संज्ञा दिएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई उनले यस्तो संज्ञा दिएका हुन् ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा प्रचण्ड र नेपालले दोहोरो भूमिका निर्वाह गरेपछि पहिल्यैदेखि ‘एमसीसी पारित गर’ भन्दै आएका भट्टराईले मुटु खाने गरी यस्तो कटाक्ष गरेका हुन् ।
दाहाल र नेपालले ‘भारतको त थियो, अमेरिकाको पनि दलाल भएछ’ भनेर त्यति बेला भट्टराइएको खिल्ली उडाउँदै आएका थिए । तर आफूले लिएको भनिएको ‘अडान’मा रहन नसकेपछि अहिले भट्टराईले भन्ने पालो आएको छ ।
उनी भन्छन्, ‘कुनै पनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंच/निष्ठाको धर्म निर्वाह गर्छन् ।’ उनको संकेत दाहाल–नेपालले आखिरमा केही सिप नलागेर ‘चीसै पानी’ ले नुहाएकोतिर छ ।
कतिपय विश्लेषकले त दाहाल–नेपालले चीसो पानी आफ्नै शरीरमा खन्याएको मौका पारी भट्टराईले झरिलो सिस्नुले मर्ने गरी चुटेको सम्म भन्न भ्याएका छन् । भट्टराईले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वसहकर्मीहरुलाई सिस्नुले चुटेका हुन् ।
भट्टराइले सिस्नुपानी लगाएझैं ट्वीटरमा लेखेका छन्, ‘तर आफ्नो निजी/दली/गुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !’ भट्टराई सुरुदेखि नै एमसीसीको पक्षमा उभिदै आएका छन् ।
एमसीसीलाई सत्तारुढ दलहरु विभाजित भएपछि भट्टराईले निजी स्वार्थको लागि नेताहरुले दोहोरो भूमिका खेलेको आरोप लगाउँदै आएका छन् । सत्तारुढ दलमध्ये नेपाली कांग्रेस मात्र एमसीसीको पक्षमा उभिदै आएको देखिएको छ ।