• बैशाख २३ २०८३, बुधबार

वडा अध्यक्षको शोकमा सार्वजनिक बिदा

फाल्गुन १५ २०७८, आईतवार

सुर्खेत। सवारी दुर्घटनामा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिका भर सार्वजनिक बिदा दिइएको छ । शनिबार नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज(आइतबार ) नगरपालिकाभर सार्वजनिक बिदा दिने जनाएको हो।

आज नगरपालिका, वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले सार्वजनिक गरेको शोक वक्तव्यमा जनाइएको छ।

यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा –१२ सुर्खेतस्थित राजीगाउँमा उनी सवार भे ६ प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नंको फोर्स गाडीले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते भएका उनलाई फागुन १२ गते उपचारका लागि काठमाडौँ ल्याइएको थियो। वडाध्यक्ष कार्कीको काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो।

उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय वडाध्यक्ष कार्की विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। विसं २०४८ मा जन्मिएका उनी सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्षका रूपमा परिचित थिए ।