काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ।
ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार बालेकाट आइपुगेका देउवा र ओलीबीच भर्खरै छलफल सुरु भएको हो।
यसअघि अपराह्न ४ बजेदेखि बालकाेटमै नेपाली कांग्रेस र नेकपा एमालेका दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको थियाे।
कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल, महासचिव शंकर पोखरेल र उपहासचिव विष्णु रिमालबीचकाे छलफलपछि देउवा र ओली वार्तामा बसेका हुन्।
प्रतिनिधि सभामा एमालेले गरिरहेकाे अवरोध खुलाउन देउवा र ओलीबीच पटक पटक छलफल भएपनि निष्कर्षमा भने पुग्न सकेको छैन।
अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अनुमोदनका लागि नेपाली कांग्रेसले प्रमुख विपक्षी दल एमालेको साथ खोजेको छ । तर एमालेले आफूले गत साउनमा १४ सांसदलाई गरेको कारबाहीलाई संसदले मान्यता दिनुपर्ने अन्यथा सभामुखलाई नै हटाउनुपर्ने अडान राख्दै आएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी सम्झौता अनुमोदनमा तयार नभएपछि कांग्रेसले एमालेसँगको छलफललाई तीव्रता दिएको छ ।