• बैशाख २२ २०८३, मंगलवार

बालकोटमा देउवा-ओली वार्ता निष्कर्षविहीन

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता निष्कर्षविहीन भएको छ।

दुई शीर्ष नेताहरुबीच घनीभूत छलफल भए पनि बैठकले ठोस निर्णय भने लिन सकेन। बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र संसद्बाट अनुमोदन गर्न प्रस्ताव राखेका थिए।

प्रधानमन्त्री देउवाको जवाफ दिँदै अध्यक्ष ओलीले भने आफ्नो पूरानै अडान दोहोर्याएका थिए। ओलीले एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही गरेको सूचना टाँस्नुपर्ने बताए।

छलफलमा सहभागी भएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने तर त्यसभन्दाअघि एमालेले उठाउँदै आएको माग पूरा हुनुपर्ने भनिएको बताए।

बैठकमा प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीका साथमा महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो।