• मंसिर १४ २०८१, शुक्रबार

बानेश्वर झडपमा घाइते प्रदर्शनकारीको उपचारका लागि प्रहरीले नै दिए

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडाैं । एमसीसीविरुद्ध बानेश्वर झडपमा घाइते प्रदर्शनकारीको उपचारका लागि प्रहरीले नै दिएका छन् ।

प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीकाे स्वास्थ्यमा सुधार आएको छ ।

शल्यक्रियाका लागि अवस्थीलाई तीन पिन्ट ‘ओ’ नेगेटिभ रगत आवश्यक परेको थियो, जसमध्ये एक पिन्ट रगत प्रहरी जवान २३ वर्षीय समीनाथ यादवले दिएका हुन् । उनी प्रहरीको एक नम्बर गण नक्सालमा कार्यरत छन् । राति ९ बजे प्रहरी जवान यादवले रगत दिएका थिए ।

डडेलधुराको नवदुर्गा गाउँपालिका घर भई ललितपुरस्थित टीकाथली बस्दै आएका हेमराज बानेश्वरको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीलाई हानेको ढुंगाले उनलाई लागेर घाइते भएका थिए ।

नेपाल प्रहरीकै सहयोगमा उनलाई एभरेष्ट नर्सिङ होमबाट ट्रमा सेन्टर हुँदै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएका अवस्थीको टाउकोको दुईवटा अपरेशन गरिएको अस्पतालले जनाएको छ ।

अवस्थीको उपचारमा आवश्यक ‘ओ नेगेटिभ’ रगत प्रहरी जवान यादवले रक्तदान समेत गरी उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

घाइतेको स्वास्थ्यमा सुधार आएको र अहिले भेन्टिलेटरबाट निकालेर आईसीयूमा उपचार भइरहेको अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टीच्युट एण्ड एलाईड साइन्सले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।