काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालका अध्यक्ष माधव कुमार नेपालले सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको बताएका छन् ।
पार्टीको सुदुर पश्चिम प्रदेश कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ समाजवादीको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो बताए हुन् । उनले एमसीसी पास गर्नेगरी सत्तामा बस्न नसकिने दाबी गरे ।
अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन नरहन सक्ने बताएका छन् । एमसीसी नेपालको हितमा नभएकाको र त्यसमा भएका केहि बुँदा सच्याउनुपर्ने पक्षमा रहेको नेपालको भनाइ छ।
तर पनि कुनै बुँदा नसच्याएरै संसदमा टेबुल भएपछि एमसीसीको विपक्षमा आफ्नो पार्टी रहेको उनले बताए । नेपालले एमाले अध्यक्ष केपी ओलीले नै विभिन्न स्वार्थका लागी एमसीसी संसदमा पेस गरेको आरोप लगाए। एमसीसीलाई सम्झौता र संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारले नै गरेका कारण उनीहरूले देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाइ छ।