• बैशाख २२ २०८३, मंगलवार

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : पौडेल

फाल्गुन १२ २०७८, बिहीबार

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् ।

प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रस्ट पारे ।

“सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ,” उनले भने ।

वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे । “उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुनसक्छ,” उनले भने ।

एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए ।

“एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो,” उनले भने, “जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।”