• बैशाख २१ २०८३, सोमबार

एमसिसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ, तर कांग्रेस पछि हट्दैन : प्रधानमन्त्री देउवा

फाल्गुन ५ २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताएका छन्।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ आज प्रधानमन्त्ती निवास बालुवाटारमा सार्वजनिक गर्दै उनले पार्टी र संसदीय दलले सर्वसम्मत निर्णय गरेकाले एमसिसी संसद्मा टेबल गर्ने र नतिजा स्वीकार गर्ने बताए ।

कांग्रेसको सर्वसम्मत निर्णय अनुसार आफू एमसिसीलाई पास गर्नमा लागिरहेको उनको भनाइ छ । एमसिसी पास गराउन एक मतले निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले आफू त्यसमा लागिराखेकाले फेल वा पास जे भएपनि राष्ट्रकै हितमा हुने पनि बताए ।

उनले भने, ‘एमसिसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन । तर राष्ट्रको हितमा छ भन्नेकुरा सत्य कुरा हो यो । हामीले भन्नुपर्छ यो, सत्य हो ।’

प्रधानमन्त्री देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको बताए । पार्टीले राम्रो राम्रो काम गरिरहेको भएपनि जस अरुलाई जाने इर्ष्याका कारण पार्टीको प्रचार नगर्ने गरिएको उनले बताए ।

प्रधानमन्त्री देउवाले पार्टीले गरेको राम्रा कामको प्रचार प्रसार गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘पार्टीको प्रचार हामीले कम गरेका छौँ । हामीले गरेका कामहरुको प्रचार कम गरेका छौँ ।

प्रचार भएपछि जस अरुलाई जान्छ भन्ने हामीलाई इर्ष्या छ । पार्टीले गर्‍यो भन्ने नाम किन भन्नुपर्‍यो ? पार्टीले गर्‍यो भनेर देशभरी भन्न सकिन्छ । पार्टीको प्रचार पुगेको छैन । पार्टीले गरेका राम्रा कुराहरु पुगेका पनि छैनन् । पार्टीले राम्रो कामहरु गरेको छ ।’

प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने बताए ।