• मंसिर १२ २०८१, बुधबार

भारी हिमपातका कारण सल्यानका डाँडाकाँडा सेताम्ये (फोटो फिचर)

माघ २१ २०७८, शुक्रबार

काठमाडौँ । केहि दिनदेखि परिवर्तन भएको मौसमको कारण देशका अधिकांश भूभागमा वर्षा भएर हिमपात समेत भएका खबरहरु सार्वजनिक भइरहेका छन् । बदली हुनेबित्तिकै हिमालहरुमा हिउँ पर्नु त एकदम स्वाभाविकै कुरा भयो तर यसपालीको बदली अलि बढी नै चिसो र वर्षा गराउने खालको देखिएको छ । विगत केहि दिनदेखि नै आकाश धुमिलहुँदै गएको थियो ।

यसलाई निरन्तरता दिंदै बिहीबारदेखि विभिन्न स्थानहरुमा पानी पर्ने असिना झर्ने काम भएकोमा गएरातीदेखि उच्च हिमाली र हिमाली क्षेत्रहरुमा भारी हिमपात भएको छ भने केही पहाडी जिल्ला र भूभागहरुमा पनि हिउँ परेका समाचार तथा दृश्यहरु देखा परेका छन् । काठमाडौँ उपत्यकाका वरिपरी रहेका शिवपुरी, फुलचोकी, नगरकोट, चन्द्रागिरी लगायतका डाँडाहरुमा समेत हिउँ परेको छ भने कतै कतै त यो सामग्री तयार पार्दासम्म पनि हिउँ परिरहेकै छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा देशका पश्चिमी तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको र मध्यान्नपछि क्रमिकरुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली इलाकाहरु र गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यमस्तरको वर्षाको सम्भावना रहेको समाचारमा जनाइएको छ । यसैबिच भारी वर्षा तथा हिमपातका भएका कारण चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउन समेत महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

उता कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरुमा पनि गएरातीदेखि नै वर्षा सहित हिउँ पर्नेक्रम जारी छ । यसैबिच कर्णालीको पहाडी जिल्ला सल्यानका उच्चस्थानहरुमा पनि हिउँ परेका दृश्यहरु देखिएका छन् । जिल्लाका उच्चस्थानहरुमा रहेका कुमाख लेख, मालिका लेख, निगालचुला, खामे लेख, झिम्पे, जिमाली, मर्म, कोट्मौला, दमाचौर, जयतपानी, बाँफुखोला, पिपलनेटा लगायतका टाकुरा तथा स्थानहरुमा हिउँ परेको छ ।

पहाडी डाँडाहरुमा परेको हिउँका दृश्यहरुमा सल्यानीहरु टप्पा गाउँदै कामकाजमा रमाइरहेका छन् । अन्य जिल्लाहरुको तुलनामा कम पानी पर्ने जिल्लाको सूचीमा रहेको सल्यानमा परेको हिउँका दृश्यहरु हामीले सल्यान दृष्टिकोण समूह, सल्यान फोटो पत्रकार समूह, सल्यानका विभिन्न सामाजिक संजालहरुका साथै हार्दिक मल्ल, अमृतबाबु बुढाथोकी लगायतका सामाजिक संजालहरुबाट तस्विर साभार गरेका छौं ।