• मंसिर १२ २०८१, बुधबार

भाइरल रत्नेचौरमा टिकटक बनाउन प्रतिबन्ध

माघ १६ २०७८, आईतवार

बेनीबजार । पछिल्लो समय टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमा भाइरल बनिरहेको म्याग्दीको रत्नेचौर गाउँमा टिकटक बनाउन निषेध गरिएको छ । कोभिड–१९ को महामारी बढ्दै गएको र त्यहाँको तोरीबारीमा टिकटक बनाउने बहानामा धेरै भीड जम्मा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको हो ।

तोरीबारी धेरै भिडभाड बढेपछि जिप्रका बेनीबाट प्रहरी टोली परिचालन गरिएको छ भने आइतबार बिहानदेखि नै घुम्न आउने पर्यटकलाई प्रहरीले फर्काउन थालेको छ ।

जिल्लामा आइतबारदेखि अन्य सेवामा पनि प्रशासनले कडाइ गरेको छ । कोरोना सङ्क्रमित बढ्दैपछि यसअघि जारी गरिएको आदेश १५ गतेसम्मको लागि थियो । जसमा प्रतिबन्ध लगाइएका सेवालाई कार्यान्वयनमा कडाइ गरिएको थिएन । आजदेखि तोरीबारीमा प्रवेश गर्न कडाइ गरिएको छ र यो समयमा तोरीबारी तिर जानु उपयुक्त हुँदैन भिडभाडले कोरोनाको जोखिम बढेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्दै सवारीसाधन र पैदल मार्गबाट तोरीबारीमा पुगेकाहरुले मास्क समेत नलगाएको र तोरीबारी नष्ट हुने गरी तस्विर भिडिओ लिएपछि स्थानीयले अनुरोध गरेकाले प्रवेशमा कडाइ गरिएको हो ।

पछिल्ला साताहरुमा रत्नेचौरको तोरीबोरी र त्यहाँको सौन्दर्य सामाजिक सञ्जालसहित फेसबुक, टीकटक र युट्युब लगायत मूलधारका मिडियामा पनि चर्चित भएका छन् ।