• मंसिर १३ २०८१, बिहीबार

मंगलबारसम्म ४० लाख मोर्डना खोप आइपुग्ने,यी १७ जिल्लामा यो खोप दिइदै

माघ ९ २०७८, आईतवार

काठमाडौं । सरकारले मंगलबारसम्म ४० लाख मोर्डना खोप आइपुग्ने जनाएको छ ।

सरकारले विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत ४० लाख खोप खरिद गरेको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने बताउदै उक्त खोप १७ वटा जिल्लाका बालबालिका लागि दिइने विभागले जनाएको छ ।

यसअघि सरकारले ५७ वटा जिल्लामा मोर्डना र तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा फाइजर खोप चलाइसकेको छ । सरकारले १५ माघ देखि चार दिनका लागि खोप अभियान चलाउन विद्यालय खुल्ला गर्ने निर्णयसमेत गरेको छ । ६० जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइसकेकाले बाँकी अन्य जिल्लामा अब मोर्डनाको खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले बताए । ‘६० जिल्लामध्ये केही जिल्लामा मात्रै दोस्रो डोज दिन बाँकी छन् । अब बाँकी १७ जिल्लाका बालबालिकालाई खोप दिने योजना छ’, दाहालले भने ।

काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रूपन्देही, बाँके, दाङ र कैलालीका बालबालिकालाई खोप दिइने छ । त्यसैगरी, सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउने तयारी गरेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको चौरासियाले जानकारी दिए ।

‘५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई हामीले खोप लगाउन पाएका छैनौं । अब खरिद गरेर उनीहरूलाई पनि खोप लगाउने सरकारको योजना छ,’ चौरासियाले भने, ‘८४ लाख खोप खरिद गर्न प्रस्ताव अगाडि बढाएका छौं । विभिन्न चरणको छलफल अगाडि बढेको छ ।’ उनका अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिकाले खोपका लागि भने केही समय अझै कुर्नुपर्ने हुन्छ ।