जनकपुर । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्।
एमाले र लोसपाले संयुक्त रुपमा जनकपुरमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी गराइएको छ।
गठबन्धन भएसंगै लोसपाले एमालेका अन्य समुहका उम्मेदवार उसमान अन्सारीलाई समर्थन गर्ने भएको छ भने एमालेले लोसपाकी महिला उम्मेदवार रुपा कुमारी यादवलाई समर्थन गर्ने भएको छ । एमालेकी महिला उम्मेदवार बिना देवी साहले आफुले उम्मेदवारी स्थगित गर्दै लोसपाकी उम्मेदवार यादवलाई समर्थन गर्ने बताएकी छन् ।
एमालेका सचिव तथा पुर्व उपप्रधानमन्त्री रघुविर महासेठले जसपाका अध्यक्ष उपेन्द्र यादव सत्तामा पुग्न एमालेसंग मित्रता गर्ने र सत्ताबाट बाहिरए पछि एमालेलाई मधेश विरोधी भनेर कुप्रचार गर्ने काम गरेको आरोप लगाउदै लोसपा संग मिलेर मधेशमा काम गर्न चाहेको बताए ।
त्यस्तै एमालेबाट अन्य समूहका उस्मान अन्सारीको उम्मेदवारी रहने एमाले सचिव रघुवीर महासेठले बताए।
पत्रकार सम्मेलनमा उपस्थित दुवै दलका नेताहरु एमाले र लोसपाको गठबन्धन अगामि निर्वाचनहरुमा समेत हुन सक्ने संकेत गरेका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित लोसपा प्रदेश २ का नेता जितेन्द्र सोनलले मुद्दा फिर्ता, नागरिकता विद्ययेक तथा संविधान संसोधन जस्ता मधेश र आफनो पार्टी लोसपाको मुद्दालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपि शर्मा ओलीले देखाएको सदासयतालाई कदर गर्दै एमाले संग गठबन्धन गरेको बताए ।
यी दुई दलले राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरे पनि मधेश प्रदेशमा सत्ता गठबन्धन नै मजबुत स्थितिमा देखिएको छ। मधेश प्रदेशमा प्रदेशसभा सदस्य, स्थानीय पालिकाका जनप्रतिनिधिहरु सत्ता गठबन्धनका बढी रहेकाले सत्ता गठबन्धन एमाले र लोसपाबीचको गठबन्धनपछि पनि मजबुत स्थितिमा देखिएको हो।
मधेश प्रदेशमा कुल ९ हजार ८ सय १६ मतभार छ। मधेश प्रदेशमा सबैभन्दा बढी जसपाको २ हजार ९ सय ८८, नेपाली कांग्रेसको २ हजार ३ सय ७०, लोसपाको १ हजार ५ सय ६०, माओवादी केन्द्रको १ हजार १ सय ९४, एमालेको ९ सय ४२ र नेकपा एकीकृत समाजवादीको ७ सय ५० मतभार रहेको छ। मधेश प्रदेशमा गठबन्धनको मतभार ७ हजार ३ सय २ रहेको छ । एमाले–लोसपाको मिलाएर कुल मतभार २ हजार ५ सय २ मात्रै रहेको छ।
पाँच दलिय गठबन्धले अन्य तर्फ जसपाको मो. खालिद र महिला तर्फ मोओवादीकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ ।
पत्रकार सम्मेलनमा एमालेका प्रदेश २ अध्यक्ष रामअवतार यादव, पुर्व मन्त्री लिलानाथ श्रेष्ठ र जुली महतो त्यसै गरि लोसपाका सांसदहरु परमेश्वर साह, रानी शर्मा तिवारी, जयनुल राइन, अभिराम शर्मा सहितको उपस्थिती थियो ।