• बैशाख १७ २०८२, बुधबार

सरकारले जनताको ज्यान जोगाउन कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री देउवा

माघ ३ २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सोमबार बालुवाटारमा बसेको बिपद न्युनीकरण राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीसंग जुध्न सबै तयारी गर्न निर्देशन दिएका छन् । उनले नाकामा कडाइ गर्दै सबै क्षेत्रमा होल्डिङ सेन्टर र कोरोना परिक्षणका लागि हरपल तयारी रहन निर्देशन दिए ।

होल्डिङ सेन्टर र आइसोलेशनका लागि ठाँउ अभाव भए खाली रहेका बिद्यालयको प्रयोग गर्न समेत उनले निर्देशन दिएका छन् ।

सबै भीडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सबै सचेत रहनुपर्ने बताए ।

बैठकमा बिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परिक्षणको दायरा बढाउन सुझाव दिदैं स्वास्थ्यउपचारमा देखिने समस्याहरुलाई समयमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।