काठमाडौं । नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ११ हजार ९० जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि संचालित कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १४ लाख ७९ हजार ५ सय ६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको हो ।
नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ६५ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १३ हजार २९ जनालाई सचेत गराइएको छ ।