• बैशाख ६ २०८२, शनिबार

अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय उपत्यका कमिटीले राख्यो क्याम्पस प्रशासन समक्ष यस्ता मागहरु

माघ २ २०७८, आईतवार

पोखरा । सत्तारुढ माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय  उपत्यका जिल्ला समितिले विभिन्न माग राखि विश्वविद्यालयहरुको सम्बन्धन प्राप्त संगठन open मार्फत् विभिन्न कलेज प्रशासन समक्ष मागपत्र बुझाएको छ । सो संगठनले विद्यार्थीका हितका लागि भन्दै उपत्यकामा रहेका क्याम्पसहरुमा समेत माग पत्र बुझाएको जनाएको छ ।

माग पत्रमा आफ्नो संगठनसँग विभिन्न समयमा भएका सहमति तुरुन्त कार्यान्वयन गर्नुपर्ने, विश्वविद्यालयले तोकेको मापदण्ड र भौतिक पूर्वाधार अविलम्ब पूरा गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।

सो संगठनका पोखरा विश्वविद्यालयका अध्यक्ष बेनुपराज खत्री र सचिव दियोजीत वलीद्धारा हस्ताक्षरित मागपत्रमा जनयुद्ध र जनआन्दोलनका शहिद परिवारका सदस्यहरु, पिछडिएको क्षेत्र र वर्गलाई उचित छात्रवृत्तिको व्यवस्था गर्न माग पनि गरिएको छ ।

मागपत्रमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वभर फैलिएकोले पूर्ण स्वास्थ्यको मापदण्ड अपनाउँदै परिक्षा सञ्चालन गर्नुपर्ने, भौतिक रुपमा उपस्थित हुँदा जोखिम हुने भएकोले विद्यार्थीको निम्ति स्वास्थ्य बीमा सञ्चालन गर्न पनि माग गरिएको छ । त्यस्तै मागपत्रमा पोखरा विश्वविद्यालयलाई परिक्षा तालिका सार्वजनिक गर्नका निम्ति पहल गर्न सबै क्याम्पसहरुलाई ध्यानाकर्षण गराइएको छ ।

मागपत्रमा सम्पूर्ण क्याम्पसहरुले भर्नाको समयमा राखिएको भर्ना शुल्क घटाउन र कोर्स शुल्क वृद्धि नगर्न, वैज्ञानिक शुल्क निर्धारण गर्न र निर्धारित शुल्क भन्दा अन्य शुल्क नलिन माग गरिएको छ ।

साथै मागपत्रमा शिक्षाको गुणस्तर वृद्धिका निम्ति प्रत्येक क्याम्पसका ल्याबको स्तरोन्नति बुस्टर कक्षाको सञ्चालन, विभिन्न रोजगारमूलक सीपहरुको तालिम, सेमिनार, कलेज बसको व्यवस्था, फिल्ड भिजिटको राम्रो प्रवन्ध, सैद्धान्तिक ज्ञानको साथै व्यवहारीक ज्ञानको पनि प्राथमिकता प्रदान गर्न माग गरिएको छ ।

विज्ञप्तिमा यदि आफ्नो संगठनले राखेका मागहरु पूरा नभएमा आइपर्ने परिस्थितिको जिम्मा कलेज प्रशासनले लिर्नुपर्ने भनिएको छ ।