काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
कीर्तिपुर अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन्। उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरका र नजाने बताए ।
मन्त्री खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनुनपर्ने बताए । मन्त्री खतिवडाले भने, ‘सुरुका बेलामा आतङ्क बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन हाे भनेर गर्याैँ । जति जानेको थियो, त्यति गर्याैँ । त्यसले केही मृत्यु दर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजस्व, सामाजिक क्षेत्रका अनेक कामलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढङ्गले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यक्ता हेरेर खास ठाउँमा विचार पुर्याएर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ ।’
मन्त्री खतिवडाले कोरोनाको नयाँ भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे । मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि नयाँ भेरियन्टबाट बच्न सहज हुने बताएकाले आउँदो माघ पहिलो हप्तादेखि अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्षमाथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्तादेखि आम नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।
मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे। कोरोना खोप लगाउन अस्पतालमा भिड भइरहेको प्रसङ्गमा उनले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भिड हुन नदिने बताए ।