• मंसिर १२ २०८१, बुधबार

दाङमा माघी मिलन कार्यक्रम गरियो

पुष २८ २०७८, बुधबार

घोराही । प्रत्यक वर्ष माघ १ गतेदेखि सुरुहुने माघी पर्व यस वर्षपनि सुरु भइसकेको छ । पुसको अन्तिम सातातिरबाट पश्चिम तराईका दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरुमा माघीको रौनक सुरु हुन्छ ।

माघ १ देखि सुरु हुने यो पर्व माघ महिनाभरि मनाइन्छ । यो पर्वमा तरुल, सेलरोटी, सुँगुर तथा बंगुरको मासुका विविध परिकारहरु बनाएर खाने गरिन्छ । माघीमा चामलको पिठोबाट बनेको विशेष परिकार (ढिक्री) बनाएर खाने र खुवाउने पूरानो चलन रहेको छ ।

थारुहरुले माघ एकलाई नयाँवर्षको रुपमा मनाउने गर्दछन् । माघीमा उनीहरुले वर्षभरिको हिसावकिताब देखाउने तथा कुनै दाजूभाई घर छुट्टीन परेका माघीकै दिनको साइत पार्ने चलन पनि रहिआएको छ । माघी पर्वलाई नेपालका जनजाति तथा खस र आर्यहरुले आआफ्नै तरिकाले मनाउँदै आएका छन् ।

मगर, थारु, तामाङ तथा अन्य समुदायका मानिसहरुले नयाँ वर्षको रुपमा मनाउने गर्दै आएका छन् । यसैबीच आज दाङमा माघी मिलन कार्यक्रम मनाइएको छ । जिल्लाको बबई गाउँपालिका ७ मा आज एक कार्यक्रमको आयोजना गरि माघी मिलन कार्यक्रम मनाइएको सहकर्मी भक्तबहादुर डाँगीले जानकारी दिएका छन् ।

स्थानीय थारू समुदाय र अन्य समुदायका मानिसहरुको व्यापक सहभागीता रहेको सो कार्यक्रम मार्फत् थारु संस्कृति जगेर्ना गर्ने उद्धेश्य राखिएको छ ।