• मंसिर ९ २०८१, आईतवार

बोर्डिङभन्दा सरकारी विद्यालयमा आकर्षण बढ्दो

पुष २८ २०७८, बुधबार

झापा । गत शैक्षिक सत्रमा करिब ४ सय विद्यार्थी बोर्डिङ छाडेर झापा, बुद्धशान्ति–२ गोपालडाँडाको सरस्वती आधारभूत विद्यालयमा भर्नाका लागि आएका थिए । त्यसरी आएकामध्ये २ सय ३५ जनाले मात्रै भर्ना पाए, १ सय ७२ जना विद्यार्थी फर्किनुपर्‍यो ।

कारण थियो, कक्षा कोठा र शिक्षक अभाव । यो देहाती विद्यालय निजी क्षेत्रबाट सञ्चालितभन्दा अब्बल मानिन्छ । पढेको पैसा लाग्दैन । त्यही कारण अभिभावकहरू आफ्ना नानी भर्ना गर्न मरिहत्ते गर्छन् । स्कुल सरकारी तवरबाट उपेक्षित छ ।

दाताको भरथेगले जसोतसो चलेको छ । ‘दाताहरू नहुने हो भने स्कुल पहिल्यै मर्ज भइसक्ने थियो,’ प्रधानाध्यापक लोकबहादुर माझी भन्छन्, ‘सरकारले हेपेको, दाताले चेपेको हो हाम्रो स्कुल ।’

माझीलाई विद्यार्थी फर्काउनु परेकोमा बडो अपसोच छ । उनले भने ‘पढाउने ठाउँ नभएर नानीहरू फर्काउनु पर्दा पीडा हुने रहेछ ।’ आगामी शैक्षिक सत्रका लागि अहिलेदेखि नै विद्यार्थीका नाम भर्नाको सम्भावित सूचीमा छन् ।

‘मेरो नानीलाई भर्ना गरिदिनुपर्‍यो भन्दै सय जनाभन्दा बढी विद्यार्थीका अभिभावक तयारीमा छन्,’ उनले थपे, ‘नर्सरीबाहेक अन्य कक्षामा ५ जनाका दरले मात्रै भर्ना लिन सक्छौं ।’ तसर्थ अर्को वर्ष पनि धेरै विद्यार्थी भर्ना नभएर फर्किने सम्भावना देखिन्छ ।

यो जिल्लाकै नमुना आधारभूत विद्यालय हो । नर्सरीदेखि ८ कक्षासम्म नै अंग्रेजी माध्यमबाट पढाइन्छ । प्रार्थना सभादेखि कक्षाकोठासम्म विद्यार्थी अंग्रेजी बोल्छन् । बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिका आसपासका निजी विद्यालय छाडेर विद्यार्थी आएका छन् ।

टाढाबाट पनि विद्यार्थी आउने भएकाले स्कुलले बसको प्रबन्ध पनि गरेको छ । फ्रेन्डसिप नेपाल नामको एक गैरसरकारी संस्थाले यो विद्यालयलाई सहयोग गरेको छ ।

भवन निर्माणदेखि अंग्रेजी शिक्षकको पारिश्रमिक सुविधा यही संस्थाले ब्यहोर्दै आएको छ । यहाँका शिक्षकमध्ये आठ जना मात्रै सरकारी दरबन्दीका छन् । चार निजी स्रोतबाट र तीन जना शिक्षक फ्रेन्डसिप नेपालले दिएको छ ।

प्रधानाध्यापक माझीका अनुसार तीन वर्षदेखि भवन निर्माण, डेस्क, बेन्चदेखि जनशक्ति पूर्तिका लागि निरन्तर माग गरिएको छ । तर, सरकारले दिएको छैन । संघदेखि, प्रदेश र स्थानीय सरकारसम्म तीनवटै तहबाट आफ्नो विद्यालयको आवश्यकतामा गम्भीरता नदेखेको प्रधानाध्यापक माझी गुनासो गर्छन् ।

सरस्वती आधारभूत विद्यालय नयाँ होइन । यो खुलेको ५४ वर्ष भयो । सुरुमा धर्म ढुकुटीबाट शिक्षालय चलाइएको थियो । त्यसबाटै विकसित भई २०२४ सालमा स्थापित यो शिक्षालय लामो समयदेखि जेनतेन चल्दै आएको थियो । एक समय विद्यार्थी संख्या घटेर ३५ जना भएको थियो ।

‘अभिभावकले नानी झिक्दै बोर्डिङमा भर्ना गर्न थाले,’ त्यो बेलाका शिक्षक माझीले सम्झिए, ‘स्कुल गाभिने अवस्थामा थियो, त्यही बेला मेरो काँधमा जिम्मेवारी आइलाग्यो ।’

स्कुलमा उनीभन्दा वरिष्ठ शिक्षकहरू पनि थिए । तर, प्रधानाध्यापकको जिम्मेवारी उनको काँधमा आइलाग्यो । ‘सुरुमा आँटै गरेको थिइनँ’, उनले भने, ‘स्कुल झन बिग्रिने पो हो कि भन्ने डर थियो ।’ चुनौतीका बीच पाएको जिम्मेवारीलाई उनले अवसरका रूपमा परिणत गरे र स्कुल सुधार्ने अभियानको थालनी गरे ।

अभिभावकको मन जित्न उनलाई समय लागेन । सरकारी शिक्षकप्रतिको आम बुझाइलाई चाँडै परिवर्तन गरिदिए । परिवर्तन आफैंबाट गर्नुपर्छ भन्दै पहिला शिक्षकलाई अनुशासित बनाए । शिक्षकका छोराछोरीलाई आफैं पढाउने स्कुलमा भर्ना गर्ने अभियान चलाए ।

‘शिक्षक अनुशासित बन्दै गएपछि शैक्षिक गुणस्तर सुधारमा सघाउ पुग्यो,’ माझी थप्छन्, ‘त्यसपछि स्कुल सुधारिँदै गयो ।’ उनी प्रधानाध्यापक बनेको पाँच वर्षभित्रै विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्‍यो, त्यसयता विद्यार्थी संख्या उल्लेख्य भएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।