काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
सीसीएमसीकै सिफारिस अनुसार विद्यालय बन्द हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकरी दिए । आइतबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।