काठमाडौँ। नेकपा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ५ जनासहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
लेखा प्रमुखसहित ६ जनालाई कोरोना पुष्टि भएपछि कार्यालयमा अतिजरुरीबाहेक सबै सेवा बन्द गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार क्यान्टिन पनि पूर्णरुपमा बन्द गरिएको छ।
कर्मचारीलाई संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहालले भेटघाटका कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।
‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ । ‘दाहालको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।
माओवादी केन्द्रले भर्खरै काठमाडौंमा ८औं महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आएका थिए ।