काठमाडौं । नेपाल मगर संघले यसवर्षको माघी पर्वलाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । सो संगठनका अध्यक्ष नवीन रोकामगरको अध्यक्षतामा बसेको बैठकले माघीलाई ‘माघे सकराती सांस्कृतिक महोत्सव–२०७८’को रुपमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को विशेष उपस्थितिमा मनाउने निर्णय गरेको समाचारमा जनाइएको छ ।
महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनमगरले गर्नेछन् । मगर संघको केन्द्रिय कार्यालय काठमाडौंको कलङ्कीमा बसेको बैठकले माघी महोत्सवलाई भव्यतापूर्वक मनाउने कार्यक्रममा जुट्न मगर संघको मातहतका भातृ संघ–संस्थाहरुलाई निर्देशन पनि दिएको छ ।
साथै बैठकले मगर समुदायका अग्रज नेता, सम्मानित व्यक्तिहरु, माननीय र चर्चित कलाकारहरुको उपस्थितमा मगर समुदायको विविध मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत परिकारहरुको प्रर्दशनी पनि हुने भएकोले सबैलाई उपस्थितिको लागि अनुरोध पनि गरिएको छ ।
मेलामा मगर समुदायको मौलिक भेषभूषा पनि प्रदर्शन गरिने भएकोले सबै मगरहरुलाई आफ्नो भेषभूषामै कार्यक्रममा सहभागी हुन पनि अनुरोध गरिएको छ । मेलामा धनुणबाण हान्ने कार्यक्रम तथा शुभकामना आदान–प्रदान पनि गरिनेछ ।
महोत्सव काठमाडौंमा रहेको टुंडिखेलमा हुनेछ । माघ १ गते हुने सो महोत्सवमा मौलिक झाँकी र हर्ष उल्लासका साथ काठमाडौंको टुडिखेल मैदानमा जानका लागि संघले सबैलाई अपील गरेको छ ।