• बैशाख १४ २०८२, आईतवार

सात दिनदेखि हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

पुष १९ २०७८, सोमबार

रुकुम पूर्व। एक सातादेखि हिउँमा फसेका रुकुमपूर्वका १४ जना मजदुरलाई सकुशल उद्धार गरिएको छ। सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुको सकुशल उद्धार गरिएको हो ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर गत मंगलबार र बुधबार भएको भारी हिमपातका कारण हिउँमा फसेका थिए। उनीहरूको सोमबार दिउँसो हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुनको उद्धार गरिएको हो । उनीहरु सबैलाई पेल्मा गाउँमा पुर्याइएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।

मजदुरहरू हिउँमा फसेको खबर आइतबार मात्र थाहा भएको थियो। म्याग्दी, बाग्लुङ र रुकुमपूर्वको सिमाना आसपासको उपल्लो घुसदुङमा गोरेटो बाटो खन्न उनीहरू गएका थिए।

बाक्लो हिमपात भएपछि उनीहरू घर फर्कन सकेका थिएनन्। एक सातासम्म उनीहरू ओडारमा बसिराखेको अवस्थामा सोमबार दिउँसो सकुशल हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।