रुकुम पूर्व। सडक निर्माणमा खटिएका १४ जना कामदारहरु एक हप्तादेखि हिउँमा फसेका छन् ।
रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु सात दिनदेखि हिउँमा फसेका हुन् । गत मंगलबार र बुधबार भएको भारी हिमपातका कारण बाटो निर्माण गर्न गएका उनीहरु आफू बसेको ठाउँबाट निस्कन सकेका छैनन् ।
वडा नम्बर २ बाट घोडेटो बाटोका लागि बजेट विनियोजन भएको थियो। उक्त बाटो निर्माणका लागि उनीहरू खटिएका थिए । तर, मौसममा आएको परिवर्तनसँगै भारी मात्रामा हिउँ परेपछि उनीहरू घर फर्किन पाएका छैनन् । उनीहरू आफूहरू बसेको ठाउँमै फसेको वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीले बताए । उनका अनुसार आइतबार मात्र मजदुरहरू फसेको जानकारी प्राप्त भएको हो । विकट ठाउँ र सूचनाको पहुँचभन्दा बाहिर रहेकाले हिउँमा फसेको धेरै दिनपछि मात्र जानकारी आएको बताइएको छ । हिउँमा फस्नेरूमा जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन रहेका छन् ।
हिउँमा फसेकाहरूको आजै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । हिउँमा फसेका मजदुरहरूको उद्धारका लागि हेलिकोप्टर पठाइदिन गृह मन्त्रालयलाई आग्रह गरिएको र सकभर उनीहरूको आजै उद्धार हुने उनले बताए। सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भएको र आज दिनभरमा कामदारहरुको उद्धार भइसक्ने समेत प्रजिअ बास्कोटाको भनाइ छ।