काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको रासायनिक मल डीएपी किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । उनीहरुमाथि डेढ अर्बभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
कृषि सामग्री लिमिटेडका तत्कालीन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ ।
आयोगले कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उप—प्रबन्धक पुष्कर दिप बुढाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
यस्तै नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधरी तथा उक्त कम्पनीसँग लिमिटेडका तर्फबाट हस्ताक्षर गर्ने मनोज, आपूर्तिकर्ता जोशी बिज हाउस प्राइभेट लिमिटेड र उसका कार्यकारी निर्देशक विनित जोशीविरुद्ध आरोप पत्र दायर गरिएको छ ।