• बैशाख १३ २०८२, शनिबार

स्रोत नखुलेको रु.५० लाख बरामद, सौर्य एयरका म्यानेजर सहित दुई पक्राउ

पुष १८ २०७८, आईतवार

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसो विमानस्थलबाट ५० लाख रूपैयाँ बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम रहेको भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरीले चेक गर्ने क्रममा प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुन भित्र स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ।

एक हजारका दरको ४९५० वटा र पाँच सयका दरको १०० वटा गरी ५० लाख रुपैयाँ बरामद गरेको हो। सो रकम लिन आएको आरोपमा एयरलाइन्सको काठमाडौंमा एसिस्टेन्टसमेत रहेकी रेशा शाक्यलाई प्रहरीले पक्राउ गरेको छ।

बरामद भएको नगद र उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाएको छ।

थप अनुसन्धानको लागि सौर्य एयर विराटनगरका स्टेशन म्यानेजर प्रकाश पौड्याललाई पनि नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए।

यस सम्बन्धमा विभागले थप अनुसन्धान अघि बढाएको छ।