• बैशाख १३ २०८२, शनिबार

उपत्यकाका १९ स्थानमा विद्युत् सेवा अवरुद्ध

पुष १५ २०७८, बिहीबार

काठमाडौँ। बुधबार बिहानैदेखि उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। ट्रान्समिटर पड्कँदा र तार सर्ट भएर आगलागी हुँदा उपत्यकाका १९ स्थानमा बिजुली बत्ती बिग्रिएको हो। केही क्षेत्रमा बुधबार बिग्रिएको विद्युत् सेवा हालसम्म पनि नेपाल विद्युत् प्राधिकरणले मर्मत गरेको छैन।

उपत्यकाको थापाथली, कलंकी र लाजिम्पाट क्षेत्रमा बुधबार बिहानदेखि नै विद्युत् सेवा अवरुद्ध छ। प्राधिकरणका अनुसार ओभरलोडका कारण केही ट्रान्समिटर पड्किएका छन्। जाडो बढेसँगै इलेक्ट्रोनिक हिटरजस्ता उपकरणको बढी प्रयोग भएको र त्यसको लोडका कारण ट्रान्समिटर पड्किएको प्राधिकरणले जनाएको छ।

अहिले सिंहदरबार आसपासका केही क्षेत्रमा पनि बिजुली अवरुद्ध छ। थापाथली प्रसूतिगृह क्षेत्रमा हिजोदेखि बिजुली बिग्रिएको छ। लाजिम्पाटका केही क्षेत्रमा बुधबार दिउँसोदेखि विद्युत् अवरुद्ध छ। ट्रान्समिटर पड्किएपछि त्यस क्षेत्रमा विद्युत् सेवा बन्द भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिए। उनले पानी परिरहेको वेला बिजुलीको काम गर्न नमिल्ने भएकोले आज बिहान पानी रोकिएपछि मात्रै विद्युत् सेवा अवरुद्ध क्षेत्रमा काम भइरहेको बताए।

उनका अनुसार उपत्यकाका १९ भन्दा बढी स्थानमा बिजुली बिग्रिएको जानकारी प्राधिकरणलाई प्राप्त भएको छ। जसमध्ये लाजिम्पाट, कलंकी, थानकोट, गौशाला, थापाथली, सातदोबाटो, पुतलीसडक–धोबीधारालगायत क्षेत्रमा विद्युत् अवरुद्ध छ। बिग्रिएको ठाउँहरूमा प्राधिकरणले कर्मचारी खटाइसकेको
बताइएको छ ।