काठमाडौं । संसदमाथिको पटकपटकको हर्कताले ओली सत्ताच्युत भएसँगै काँग्रेस सभापति देउवा सत्तामा पुगेका छन् । उनी गठबन्धन दलहरूको भर्याङमा टेकेर सत्तामा उक्लिएका हुन् ।
गठबन्धन दलहरू काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीले देउवालाई सत्तामा पुर्याएका हुन् । उनले गठबन्धनको सहारामै सत्तारोहण गर्ने अवसर पाएका छन् । अन्यथा उनी एक्लै सत्तामा पुग्ने संसदिय गठजोडमा पूर्ण छैनन् ।
देउवाले गत जेठ २९ गते सत्तारोहण गरेका थिए । देउवाको नेतृत्वमा गठबन्धन दल राष्ट्रिय जनमोर्चाबाहेक अन्य दलहरू सत्तामा छन् । देउवा नेतृत्वको सत्ता साझेदार दलहरू आगामी चुनावसम्म गठबन्धन गर्ने ध्याउन्नमा छन् । यसका लागि निरन्तर सत्ता सञ्चालनका लागि देउवालाई सघाउने शीर्ष नेताले प्रण गरेका छन् । यो बीचमा उनीहरूले सत्ताबाट हात नझिक्ने पूर्ण प्रतिबद्धता जनाउँदै आएका छन् ।
तथापि काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवा पक्षका नेताहरूबाहेक अन्य पक्षका नेताले गठबन्धन दलसँग मिलेर आगामी चुनावमा जान नसकिने बताउँदै आएका छन् । नेता डा.शेखर कोइराला पक्षका लोकप्रिय युवा नेता तथा काँग्रेस महामन्त्री गगन थापाले गठबन्धनका कुनै पनि दलसँग साँठगाँठ नगरी एक्लै चुनावमा भिड्ने बताउँदै आएका छन् ।
१४औँ महाधिवेशनको प्रचारप्रसारको क्रममा थापाले एक्लै चुनावमा भिड्न काँग्रेस तयार भएको बताएका थिए । उनी आज पनि यहीँ कुरा दोहोर्याउँदै हिड्ने गर्छन् । यद्यपि गठबन्धन दलसँग हातेमालो गरेरै भएपनि आगामी चुनावी प्रतिस्पर्धामा उत्रिने पक्षमा देउवा देखिन्छन् । तर, काँग्रेस भित्रका अन्य खेमाका नेताहरू भने यसमा रुची देखाउँदैनन् ।
सत्ता सञ्चालनका लागि मात्रै गठबन्धन भएको बताउने थापा आगामी चुनावमा कुनै हालतमा पनि उनीहरूसँग साँठगाँठ नगर्ने बताउँछन् । सत्ता साझेदार दलहरूको बैसाखी टेकेर आगामी चुनावमा भिड्न काँग्रेस तयार छ ? भन्ने सवालको जवाफका लागि महामन्त्री गगन थापालाई टेलिफोनमार्फत मैले प्रश्न सोधेका थिएँ ।
जवाफमा उनी भन्छन्, काँग्रेस आगामी चुनावका लागि एकल भिड्न तयार छ । त्यसका लागि काँग्रेस स्वयम् तयार हुनुपर्छ । कुनै पनि दलसँग मोलमोलाई गरेर चुनावमा जाने भन्ने हुँदैन । यद्यपि हामी त्यसरी गयौँ भने आगामी चुनावमा जनताले हामीलाई विश्वास गर्दैनन् ।
काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेका हाम्रा नेता, कार्यकर्ता र शुभचिन्तकले कुनै हालतमा अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न मान्दैनन् । उहाँहरूले मान्नु पनि हुँदैन । निर्धक्क भएर निडर मनले रुखमा भोट हाल्नुहुन्छ ।
सत्ता साझेदार दलहरू सत्ता सञ्चालनका लागि मात्रै गठबन्धन गर्न सक्छन् । तर, चुनावमा हामी एकल भिड्न तयार छौँ । हाम्रा नेता ७७ वटै जिल्लामा चुनावी मैदानमा प्रतिस्पर्धा गर्नका लागि निकै योग्य छन् । कुनै पार्टीको बैसाखी टेक्ने पक्षमा छैनन् । यतिबेला हाम्रो पक्षमा जनलहर छ । हामी त्यसको कदर र सम्मान गर्छौँ ।
हामी एक्लै चुनावमा जानका लागि योग्य हुँदाहुँदै अन्य पार्टीसँग मिलेर जानुपर्ने कारण नै देख्दिनँ । स्वभावैले हामी लोकतन्त्रका हिमायती भएकाले चुनावसँग डराउँदैनौँ । यसले गर्दा काँग्रेस एकल चुनावी प्रतिस्पर्धामा उत्रिन्छ । चुनावी मैदानबाट भाग्ने काँग्रेसको चरित्र नै होइन । यसर्थ यो कुराले काँग्रेसभित्र पनि सकारात्मक प्रभाव परेको छ । सभापति देउवा पनि विस्तारै यस विषयमा कन्भिन्स हुनुहुन्छ भन्नेमा म ढुक्क छु ।