• बैशाख १२ २०८२, शुक्रबार

चीनलाई मन्त्री रेग्मीकाे आग्रह : सीमा नाकामा आयात–निर्यात सहज गरियाेस्

पुष १४ २०७८, बुधबार

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेकी छिन्।

चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात-निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गरेकी हुन्।

चाइना फाउन्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा बुधबार बोल्दै उनले चीनबाट भूकम्प, कोभिडजस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गरिन्।

‘दु:ख पर्‍यो भने हेर्ने छिमेकीले हो’,मन्त्री रेग्मीले भनिन्, ‘नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ।’

उनले कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको बताइन्। उनले अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गरिन्। छिमेकी देशहरूबीच सहयोगको अपेक्षा हुने मन्त्री रेग्मीको भनाई छ।

गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेसनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेशनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्। ‘केही समस्या पर्छ भने मन्त्रालयमा आउनुहोस्’, मन्त्री रेग्मीले भनिन्, ‘सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध छ।’