सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा मङ्गलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका ८ रामपुर टोलसम्म, उत्तरमा वडा नं. ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
निषेधाज्ञा अवधिभर बाहिर हिँडडुल गर्न, भेला हुन, सभा तथा अन्य गतिविधि गर्न प्रतिबन्ध लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।
आइतबार राति ईश्वरपुर नगरपालिका–७ मा ईलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ना ४३ प ५०१८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा रामकुमारको मृत्यु भएको थियो । उनको मृत्युपछि स्थानीयवासी सोमबार देखिनै आन्दोलित छन् ।
आन्दोलित स्थानीयले सोमवार अपराह्न इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी समेत गरेका थिए ।